25.1 C
Kathmandu
Saturday, July 27, 2024

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने

सुर्खेत – कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितका लागि राहतको प्याकेज ल्याएको छ । हिजाे बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

गएको कात्तिक २९ गते मुगुको गमगढी बजारमा आगलागी भएको थियो । बैठकले राहतका लागि ६१ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मुगुलाई निकासाका लागि स्वीकृत दिएको छ ।

आगलागी पीडितलाई क्षतिको आधारमा २० हजारदेखि चार लाख रुपैयाँसम्म राहत उपलब्ध गराइने भएको हो । ८६ परिवारलाई क्षतिको आधारमा राहत उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आगलागीबाट पूर्ण क्षति भएका २० र आंशिक क्षति भएका पाँच घर, व्यवसायमा क्षति भएका २६ जना र घरभाडामा बस्ने २५ परिवारलाई राहत उपलब्ध गराउने उहाँले बताउनुभयो ।

मन्त्री विष्टका अनुसार पूर्ण क्षति अन्तर्गत १० लाखसम्म क्षति भएकालाई एक लाख, दश लाखदेखि ५० लाखसम्म क्षति भएकालाई एक लाख ५० हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई दुई लाख, एक करोडदेखि एक करोड ५० लाखसम्म क्षति भएकालाई दुई लाख ५० हजार, डेढ करोडदेखि तीन करोडसम्म क्षति भएकालाई तीन लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने छ ।  तीन करोडभन्दा माथि क्षति भएकालाई चार लाख रुपैयाँ राहत उपलब्ध गराइने छ ।

त्यस्तै आंशिक क्षति भएका घर अन्तर्गत एक लाख क्षति भएकालाई २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकालाई ५० हजार र ५० लाख वा त्याेभन्दा बढी क्षति भएकालाई ७५ हजार रुपैयाँ उपलब्ध गराइने छ ।

यस्तै व्यवसाय अन्तर्गत २० लाखसम्म क्षति भएकालाई तीस हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकालाई ५० हजा, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकालाई ७५ हजार र एक करोड वा त्याेभन्दा बढी क्षति भएकालाई एक लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।

यस्तै भाडामा बस्ने परिवार अन्तर्गत १० लाखसम्म क्षति भएकालाई २० हजार, २० लाखदेखि २५ लाखसम्म क्षति भएकालाई ४० हजार र ५० लाखभन्दा बढी क्षति भएकालाई ६० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज