28.1 C
Kathmandu
Saturday, July 27, 2024

पाँचथरमा मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, दुई स्वास्थ्यकर्मी पनि बेपत्ता

काठमाडौं ३ असोज । पाँचथरमा बाढी र पहिरामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका वडा नम्बर पाँच कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका वडा नम्बर १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको हो ।

मिक्लाजुङ गाउँपालिकामै दुई जना स्वास्थ्यकर्मीलाई समेत पहिराले पुरेको छ । गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारका लागि इलामको माङ्सेबुङ गाउँपालिकाबाट आएका दुई जना अहेबलाई समेत पहिराले पुरेको हो । अहिलेसम्म उहाँहरूका छाता भेटिएको छ । पहिराले दुई जना अहेबसहित तीन जनालाई सोरेर लगेको छ ।

निरन्तरको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र मानवीय तथा भौतिक क्षतिका विवरण आइरहेको अध्यक्ष माखिमले बताए । जिल्लाको फाल्गुनन्द गाउँपालिकामा तीन जना, फिदिम नगरपालिकामा दुई जना र कुम्मायक गाउँपालिकामा एक जनाको पहिरामा परी मृत्यु भएको छ । बाढी तथा पहिराका कारण हालसम्म तीन जना बेपत्ता हुनुका साथै छ जना घाइते भएका छन् ।

निरन्तरको वर्षाका कारण मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, तमोर करिडोर सडकसहित जिल्लाका अधिकांश सडक क्षतिग्रस्त बनेका छन् । बाढी र पहिराले सयौँको सङ्ख्यामा घर, गोठ तथा सार्वजनिक भवनमा क्षति पुर्याएको छ । पाँचथर, तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित नावा खोलामा रहेको अस्थायी प्रहरी चौकी बाढीले पुरेको छ ।

जिल्लामा क्षतिको थप घटना टेलिफोन अवरुद्ध हुँदा बाहिर आउन सकेका छैनन् । सडक अवरुद्ध हुनाले उद्धार कार्यसमेत जटिल बनेको छ । जिल्लामा सयौँ घर क्षतिग्रस्त हुँदा स्थानीयवासी विस्थापित बनेका छन् । सुक्खाग्रस्त क्षेत्रका रुपमा रहेका जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकामा समेत वर्षाका कारण बाढी र पहिरो गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज