25.1 C
Kathmandu
Saturday, July 27, 2024

भूकम्पको विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म मित्र राष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायको महत्त्वपूर्ण सहयोग रहेको बताउनुभएको छ ।

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८ समापन समारोहलाई आज बिहीवार काठमाण्डाैमा सम्बोधन गर्नुहुँदै उहाँले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको बताउनुभयो । अझ राम्रो र बलियो पुनर्निर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको प्रधानमन्त्री देउवाले सुनाउनुभयो ।

‘विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनर्स्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ, भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकूलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौँ’, उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणलाई सफलताको चरणमा पुर्‍याएकोमा प्राधिकरणलाई धन्यवाद दिँदै पुनर्निर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । विपद् जोखिमबाट मुक्त नेपाल निर्माणतर्फ अघि बढ्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वायत्त तथा अधिकार सम्पन्न बनाउनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकारात्मक अभ्यास तथा अनुभव आदानप्रदान भएको बताउनुभयो । पुनर्निर्माणका क्रममा प्राप्त अनुभव भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागलाई पनि उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा पालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराउनुभयो । आउँदा दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न पालिका सरकारलाई सामर्थ्यवान् बनाइनुपर्ने उहाँको माग थियो ।

समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुण बंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जापान सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा, यूएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसीडीओको भारत एवम् हिन्द महासागर निर्देशक बेन मेलरलगायतले नेपालकाे पुनर्निर्माण तथा पुनर्स्थापनाबाट आफूहरूले पनि सिक्ने अवसर पाएको बताउनुभयो ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र यूएनडीपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत आउँदा दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजै सम्मेलनअन्तर्गतका १० वटा विषयगत सत्र सम्पन्न भएका छन् । हिजाे बुधवार उद्घाटनसँगै सम्मेलनका १० वटा सत्र सम्पन्न भएको थियो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनपछि जारी घोषणा पत्रमा पालिकालाई योजना, प्राविधिक एवम् व्यवस्थापकीय हिसाबले सामर्थ्यवान् बनाउनुपर्नेमा जोड दिँदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवम् व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संरचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा भौतिक रूपमा उपस्थित र जुममार्फत जोडिएका गरी झन्डै एक हजार जनाको सहभागिता रहेको प्राधिकरणले जनाएको छ । सम्मेलनका सहभागीलाई भाेलि शुक्रवार पुनर्निर्माण भएका स्थलमा अवलोकन एवम् अध्ययनका लागि लैजाने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज