28.1 C
Kathmandu
Saturday, July 27, 2024

काठमाडौँका विद्यालय खुल्दै

काठमाडौं ९ असोज । विगत १० वर्षदेखि डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निर्णयसँगै काठमाडौँमै अध्ययन गर्ने उनका छोराछोरी गाउँ गएका हुन् ।

ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै छिन् । दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै उनका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निर्णयले भने उनी अन्योलमा छिन् । उनले भनिन्, “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दसैँ शुरु हुन हप्ता दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौँ ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भइरहेको छ ।”

काठमाडौँको वसन्तपुर निवासी यशोदा थापाले पनि दशैँ अगाडि छोटो समयका लागि भौतिक उपस्थितिमा भन्दा पनि आफ्ना छोराछोरीको पठनपाठन अनलाइनका माध्यमबाट घरबाटै गराउन सहज हुने बताइन् । उनले भनिनन्, “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ? उनले कोरोनोको तेस्रो लहर आउने र त्यसबाट बालबालिका नै बढी सङ्क्रमित हुने भनिरहेका सन्दर्भमा सरकारले बालबालिकालाई खोपको व्यवस्था गर्न ढिलाइ गरिरहेको भन्दै गुनासो गरिन् ।

कोरोना भाइरस महामारीको त्रास कम नभएको र दसैँ शुरु हुन एक हप्तामात्रै बाँकी हुँदा सरस्वती र यशोदा मात्रै होइन, विद्यालय खोल्ने निर्णयले धेरै अभिभावक थप दोधारमा छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज