28.1 C
Kathmandu
Saturday, July 27, 2024

डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए ।

“हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ,” उनले भने, “राजधानी काठमाडौं र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भार गरेर यात्रुहरुलाई पीडा हुन नदिन मन्त्रालयअन्तर्गतका निकायहरुलाई निर्देशन दिइसकिएको छ ।”विभिन्न राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको भन्दै मन्त्री ज्वालाले सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि बताए ।“सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिँदै छ ।

सवारीचालक अनुमतिपत्र नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाइएको छ,” उनले भने, “इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको छ ।”नारायणघाट–मुग्लिन सडकखण्डमा पहिरोको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने उनले प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, पृथ्वी राजमार्गको नौबिसे–काठमाडौं सडकखण्डको पनि विस्तार कार्य अगाडि बढाइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज