28.1 C
Kathmandu
Saturday, July 27, 2024

नेपालमा ग्यास बोकेर आउने भारतीय बुलेट नाकामा रोकिए

काठमाडौं । भारतबाट नेपालमा ग्यास बोकेर आउने भारतीय नम्बर प्लेटका बुलेट विभिन्न नाकामा रोकिएका छन् । सरकारले नयाँ बजेटमार्फत ढुवानीमा प्रयोग हुने भारतीय गाडीमा १५ सय अतिरिक्त शुल्क लागू गरेको छ । ती बुलेटको अतिरिक्त शुल्क कसले तिर्ने भन्ने एकिन नभएपछि बुलेट नाका कट्न नपाएको हो ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा ग्यास बोक्ने बुलेटले १५ सय रूपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेको थियो । आइतबारभन्दा पहिले व्यवसायीले नै यो शुल्क तिरेर ग्यास आयात गरिरहेका थिए । तर, अहिले भन्सारले निगमको नाममा नै प्रज्ञापनपत्रमा उक्त शुल्क समावेश गरेको छ ।

निगमको नाममा प्रज्ञापन पत्र आएकाले निगमले नै पैसा तिर्ने प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

उनले भने, ‘आज विभिन्न नाकामा नेपाल आउन लागेका ग्यास बोक्ने बुलेट १५ सय कसले तिर्ने भन्ने अन्योल भएर नाकामा बसेका छन् । हिजोसम्म नियमित रूपमा आइरहेको थियो । अब हामीले प्रति बुलेट १ हजार ५ सय कर तिर्ने निर्णय गरेपछि ती बुलेट आउने छन् । आजमात्रै नाकामा करिब ५० वटा बुलेट रोकिएको थियो ।’

अहिले बजारमा ग्यास अभाव नभएको साथै केही दिन नआउँदा पनि बिक्री वितरणमा समस्या नहुने उनले बताए । ग्यास बुलेटमा लाग्ने करको विषयमा मन्त्रीस्तरमा पनि छलफल भइरहेको उनको भनाइ थियो ।

अहिले प्रतिसिलिन्डर बिक्रीमा २६६ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ । प्रति बुलेट १५ सय कर तिर्दा निगमलाई थप १ रूपैयाँ घाटा थपिने ठाकुरले बताए ।

सरकारले आर्थिक अध्यादेशमार्फत अस्थायी पैठारी हुने सवारी तथा ढुवानी साधनमा अतिरिक्त शुल्क लाग्ने व्यवस्था गरेको थियो । ग्यास ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्यस्थलमा अनलोड गर्नका लागि वस्तु जाँचपास भएको ९६ घण्टासम्मको लागि १ हजार ५ सय रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था छ । ग्यास बुलेटबाहेक अन्य बस्तु ढुवानी गर्ने ट्रक, ट्रेलर, ट्रयाक्टर र अन्य ढुवानीको साधनहरुको हकमा ७२ घण्टासम्मको अवधिको लागि १ हजार ५ सय रुपैयाँ सरकारले तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज