28.1 C
Kathmandu
Saturday, July 27, 2024

बझाङमा विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु

काठमाडौं । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका.७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् ।
सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।
सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ जोशीको कमाण्डमा ३५ जनाको टोलीले सेती नदीमा उद्धार अभ्यास गरिरहेको थियो । त्यही क्रममा पानीको भंगालोमा परेर उनी बेहोस भएको सशस्त्र प्रहरीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेका अनुसार धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता थिए । अनुभवी व्यक्तिको पनि कसरी ज्यान गएको भन्नेबारे आफूहरु पनि अचम्मित भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज