25.1 C
Kathmandu
Saturday, July 27, 2024

ओलीले संसद् विघटनका बारेमा व्यक्त गरेका विचारले सत्ता गठबन्धनमा कुनै असर गर्दैन- प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन ठीक थियो भनेर व्यक्त गरेका विचारले सत्ता गठबन्धनमा कुनै असर नगर्ने बताएकाछन् ।
भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको मात्रै भएको संज्ञा दिएका छन् ।

उनले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले मन्त्रिपरिषद्मा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको स्वीकार गरे ।

‘केपी ओलीजीले यो धारणा सधैं राख्दैआउनु भएको छ । उहाँको धारणा उहाँको पार्टीमा प्रस्तुत गरेको धारणा हो । त्यसले हाम्रो सम्बन्धलाई कुनै असर गर्दैन । यो कुनै नयाँ धारणा पनि होईन । उहाँले त त्यो अडान पहिलेदेखि नै राख्दै आउनु भएकै छ । हामी सबैले सुनेको बुझेको कुरा हो । आफ्नो पार्टीको धारणा पार्टीको कार्यक्रममा राख्ने कुरालाई मैले असहज ठानेको छैन । स्वभाविक नै ठानेको छु । समीकरणमा केही फरक पर्ने स्थिति छैन,’– उनले भने ।

भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गरे । उनले अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताए ।

उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज