28.1 C
Kathmandu
Saturday, July 27, 2024

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले सरकार विस्तार गर्ने तयारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

सुदूरपश्चिम सरकार विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समझदारी जुटेपछि मुख्यमन्त्री सोडारीले सरकार विस्तारको तयारी गरेका हुन् । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमाले सरकारमा सामेल नहुने अडानमा रहेको थियो। शीर्ष तहमा समझदारीपछि मात्रै एमाले सरकारमा सामेल हुन तयार भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने तीन मन्त्रीको नाम पनि नेकपा एमालेले टुंगो लगाएको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र बहादुर पालको नेतृत्वमा एमाले सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने भएको छ।

एमालेले दाबी गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पालले पाउने छन्। यस्तै, एमाले सांसद बिरबहादुर थापा र हिरा सार्कीलाई सरकारमा पठाउने एमालेले तयारी गरेको प्रमुख सचेतक पालले बताए।
यस्तै, तीन मन्त्रालय पाएको नेकपा माओवादी केन्द्रले भने अझै मन्त्रीको नाम टुंगो लगाएको छैन। मन्त्रीका आकांक्षी बढी हुँदा नाम टुंगो लगाउनका लागि सहमति खोज्न अहिले माओवादी संसदीय दलको बैठक जारी छ।

माओवादीबाट ओम बिक्रम भाट, अक्कल रावल, शिवसिंह ओली र लक्ष्मी विक मन्त्रीका दाबेदार छन्। यस्तै, यसअघि कांग्रेस नेतृत्वको सरकारमा मन्त्री रहेका रमेश धामी र झपट साउद पनि दोहोरिन खोजिरहेका छन्। नेकपा माओवादी केन्द्रले सामाजिक विकास मन्त्रालय पाउने समझदारी बनेको नेताहरू बताउँछन्।
अहिले एमाले र माओवादीबाट सरकारमा सामेल हुने तीन तीन मन्त्रीमध्ये आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयको मात्रै जिम्मेवारी तोक्ने तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज