30.1 C
Kathmandu
Saturday, July 27, 2024

बागलुङका सबै कार्यपालिकामा गठबन्धनको बहुमत

बागलुङ/ बिहीबार बागलुङ नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट गठबन्धनका उम्मेदवार विजयी भए ।
गठबन्धनको तर्फबाट खुला महिला तर्फ कांग्रेसकी सुनिता श्रेष्ठ, धनमाया शर्मा र टुकोवी शर्मा निर्वाचित भए । खुला महिलामा माओवादीकी ज्योती केसी बिष्ट र नेकपा समाजवादीकी शान्ति बोसेल पनि निर्वाचित भए । उक्त पदमा एमालेको तर्फबाट उमेदवार बनेका जुनादेवी निउरे, टिकाकुमारी सार्की, दुगौ पौडेल, पुतली किसान र शान्तिदेवी शर्मा पराजित भए । कांग्रेस सहित ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेको र उनीहरुको मत कुल ७२ मध्ये झण्डै दुइ तिहाइ रहेकोले एमालेका उम्मेदवार पराजित भएका हुन् ।

गत बैसाख ३० को निर्वाचनमा बागलुङ नगरपालिकामा ११ वटा वडा अध्यक्षसहित बहुमत सदस्य गठबन्धनले जितेको थियो । कार्यपालिका निर्वाचनमा नगर प्रमुख, उपप्रमुखसहित तीनै सदस्य र अध्यक्षले मतदान गर्ने भएकोले एमाले अल्पमतमा परेको हो । सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले मतदानबाट विजयी नामावली घोषणा गरेका थिए ।

त्यस्तै दलित र अल्पसंख्यक पदका लागि भएको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका चुराबहादुर सुनार, जसपाका ढाकाराम परियार र नेकपा एसकी सीता थापा छन्त्याल निर्वाचित भए । छन्त्याल यसअघि पनि कार्यपालिका सदस्य थिइन् । सोही पदमा प्रतिष्पर्धा गरेका एमालेका ग्यामबहादुर किसान, प्रेमसिंह चर्माकार र रविलाल किसान पराजित भए । उक्त पदमा स्वतन्त्र उमेदवार सन्तोषबहादुर सार्की र माओवादीकी माया बिक पनि पराजित भए ।

यो सँगै नगर कार्यपालिकाको निर्वाचन पनि सम्पन्न भएको छ । यसअघि भएका अन्य पालिकाको निर्वाचनमा पनि सत्ता गठबन्धनका उमेदवार बिजयी भएका छन् । गठबन्धन कमजोर देखिएको ढोरपाटन नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दशवटै पालिकाको मतपरिणाम आइसक्दा बागलुङको दश पालिकाका २० जना पदाधिकारीमा कांग्रेसका ११ जना निर्वाचित भएका छन् ।

बागलुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला, बडिगाड, निसीखोला गाउँपालिकामा अध्यक्ष, जैमिनी नगरपालिका र ढोरापटन नगरपालिकामा उपप्रमुख, ताराखोला र बरेङमा उपाध्यक्ष तथा तमानखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष् पद पनि कांग्रेसले जितेको हो । राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङको उपप्रमुख, काठेखोला र बडिगाड गाउँपालिकाको उपाधयक्ष जितेको छ । माओवादीले ताराखोला गाउँपालिकाको अध्यक्षसहित बागलुङ नगरपालिकाको
उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जित हात पारेको छ । एमालेले भने ढोरपाटन नगरपालिकाको प्रमुख पदमा मात्रै जित निकालेको हो ।

२० जना पदाधिकारीले मतदान गरेर छनोट गर्ने जिल्ला समन्वय समितिमा एमालेले प्रतिष्पर्धा गर्न नसक्ने गरी पराजित भएको छ । गठबन्धनले भने यसअघि नै सहमति गरेकोले राष्ट्रिय जनमोर्चा र नेकपा एसलाई समन्वय प्रमुख र उपप्रमुख दिने तयारी गरेका छन् ।

२० जनामा ११ जना जितेर स्पष्ट बहुमत बनाएको कांग्रेसले पूर्व सहमति अनुसार राजमोलाई प्रमुखा र नेकपा एसलाइ उपप्रमुख दिने तयारी गरेको कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचनले बताए । ‘हामीले जे सहमति गरेका थियौं, त्यही गर्ने हो’ उनले भने, ‘पछिसम्म गठबन्धन बनाएर जाने योजना छ, अहिले तोडेर नराम्रो बन्दैनौं ।’ प्रमुख पाउने भएपछि राजमोले जिल्ला अध्यक्ष अमर थापालाई अगाडि सारेको छ । नेकपा एसले होमनाथ शर्मालाई अगाडि सारिसकेको छ ।

थापा काठेखोला गाउँपालिका ४ का वडा सदस्य हुन् भने शर्मा जैमिनी नगरपालिका २ का सदस्य पदमा निर्वाचित भएर आएका छन् । समन्वय समितिको पदाधिकारी तथा सदस्य बन्नकालागि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने प्रावधान छ । समन्वयको सदस्य पदमा भने कांग्रेसले बहुमत लिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज