28.1 C
Kathmandu
Saturday, July 27, 2024

कालीगण्डकी नदी अवैध उत्खनन् गर्ने स्कोभेटर, डोजर र ट्रयाक्टर सिल

पर्वत । कालीगण्डकी नदीबाट अवैध नदिजन्य पदार्थको उत्खनन् गर्न प्रयोग गरिएका स्कोभेटर, डोजर र ट्रयाक्टर नियन्त्रणमा लिई सिल गरिएको छ । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न स्थानमा पर्ने कालीगण्डकी नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् कार्यमा संलग्न ३ वटा स्कोभेटर, एक वटा डोजर र एउटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर सिल गरिएको प्रहरीले जनाएको छ । जिल्ला अनुगमन समितिको टोलीले मंगलवार गरेको अनुगमनका क्रममा उत्खनन्का लागि नदि किनारमा राखिएका स्कोभेटर, डोजर र ट्रयाक्टरलाई सोही स्थानमा सिल गरेको हो।

प्रहरीका अनुसार कुश्मा नगरपालिका वडा नं. १ स्थित राजाको बगरवाट एक÷एक वटा स्काभेटर र डोजर,जलजला गाउँपालिका वडा नं. ८ खनियाघाटवाट एकवटा स्काभेटर, वडा नं. ८ लस्ती भन्ने स्थानबाट एउटा ट्र्याक्टर तथा पर्वत जलजला गाउँपालिका वडा नं. ४ लामाखेतबाट एउटा स्काभेटर नियन्त्रणमा लिई सिल गरिएको प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
वर्षायामको असार १५ गतेदेखि भदौ १५ गते सम्म नदि किनारवाट नदिजन्य बस्तु उत्खनन् गर्न नपाईने नियम भएपनि लुकिछिपि अवैध रुपमा उत्खनन् गरेको गुनासो आएपछि अनुगमन टोली पुगेको थियो । सिल गरिएका उपकरणहरु आवश्यक कानूनी कारबाहीपछि छाडिने प्रहरीले जनाएको छ ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क, सह– संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सदस्य सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी लगायत समितिको टोलीले कुश्मा नगरपालिका र जलजला गाउँपालिका अन्तर्गत कालीगण्डकी नदी किनारमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज