30.1 C
Kathmandu
Saturday, July 27, 2024

दोबिल्ला पुलमा १५ टन माथिका सवारीहरु निषेध

पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको मोटरेवल पुलमा १५ टन भन्दा माथिका सवारीहरु प्रवेश गर्न निषेध गरिएको छ।
एक दशक अघि निर्माण भएको पुलको संरक्षणका लागि कुनै पक्षबाट पनि वास्ता नगरिँदा पुलको भारवहन क्षमता भन्दा बढी तौलका सवारीहरु प्रवेश गर्दा पुल जीर्ण बनेकाले कुश्मा नगरपालिकाले सवारी प्रवेशमा कडाई गरेको हो। पुलमा परेको भ्वाङबाट सवारीका टायरहरु नै छिरेपछि अमृत जोशी स्मृति प्रतिस्ठानले पुलको मर्मत गरिरहेको छ। सोही क्रममा पुलको अनुगमनका लागि पुगेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा र वडाध्यक्ष सुरेन्द्र के.सी.लगायतले क्षमता भन्दा बढी भार भएका सवारीका कारण पुल कमजोर बनेका कारण कडाई गरिएको बताए।
पुलको अनुगमन गर्दै प्रजिअ सापकोटाले पुलमा समस्या आउँदा पर्वतको दक्षिणी क्षेत्रका धेरै क्षेत्रहरुमा चार पाङ्ग्रे सवारीहरु आउजाउ गर्न नसक्ने अवस्था आउने बताए। पुल सार्वजनिक सम्पत्ति भएकाले त्यसको संरक्षण गर्ने दायित्व सबैको भएको बताउँदै लुकीछिपी धेरै क्षमता भएका सवारीहरु हालिँदा पनि पुल जीर्ण बनेको बताए। १५ टन भन्दा भन्दा बढी भार क्षमता रहेका सवारीहरुले जबरजस्ती पुलमा प्रवेश गर्न खोजेमा पुलको अनुगमनको लागि रहेका कर्मचारीले खबर गरेपछि आवश्यकता परे प्रहरी परिचालन गरेर पक्राउ गरिने उनको भनाई छ।
वडाध्यक्ष के.सी.ले पुलको अनुगमनको क्रममा शनिवार १५ टन भन्दा बढी क्षमतामा आएको ट्रिपरलाई रोकेर केहीलाई सामग्रीहरु झार्न लगाइएको त केहीलाई फिर्ता गरिएको बताए। प्रदेश सरकारले पुलको लागि टेण्डर आह्वान गरेको भए पनि आर्थिक स्रोत नजुटेको बताइरहेको बेलामा पुलको काम कहिले सुरु हुन्छ भन्ने यकिन नभएको बताउँदै उनले अहिले मर्मतको काम गरिरहेको अमृत जोशी स्मृति प्रतिस्ठानलाई पुलमा फेर्न आवश्यक रहेका सामग्रीहरु फेर्न अनुरोध गरे। पुलको मर्मतमा कुश्मा नगरपालिकाले पनि सहकार्य गर्न बताउँदै उनले पुलको संरक्षणमा जुट्न उपभोक्तालाई अनुरोध गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज