महाशिलाको लुंखु देउराली मह उत्पादनको पकेट क्षेत्र बन्दै

96
Honeycomb and honey drops closeup

पर्वत /कृषकले पालेका खसी बोका उत्पादनदेखि गाउँमा उत्पादित दूध र दहीलाई महाशिला गाउँपालिकाले कास्कीको पोखरामा निर्यात गर्दै आइरहेको छ ।
कृषिका माध्यमबाटै कृषकहरूको जीवनस्तर माथि उठ्न सक्छ भन्ने सोचका साथ कृषकका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको महाशिलाले गाउँपालिकाको लुंखुदेउरालीलाई मौरी गाउँको रूपमा विकास गर्दै मौरीको पकेट क्षेत्र रूपमा स्थापित गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार साना व्यावसायिक कृषि उत्पादन (पकेट) विकास कार्यक्रम अन्तर्गत रहेर महाशिला मौरी पालक कृषक समूहलाई गाउँपालिकाको तर्फबाट अनुदान उपलब्ध गराएर मह उत्पादनका माध्यमबाट कृषकहरूलाई आत्मनिर्भर बनाउन लागिएको हो । ‘यता वन र फूल क्षेत्र पनि रहेका कारण मौरीको राम्रो सम्भावना रहेको छ । छिमेकी गाउँहरूमा पनि महको उत्पादनहरू राम्रो भइरहेको बेलामा यहाँ पनि त सम्भावना छ भनेर पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको हो,’ उनले भने, ‘यो पकेट क्षेत्रलाई मौरी स्रोत केन्द्रको रूपमा स्थापना गर्ने र यस क्षेत्रलाई मौरीको क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाकाले लिएको छ ।’

अघिल्ला वर्षहरूदेखि नै लुंखुदेउरालीलाई मौरीको पकेट क्षेत्रको रूपमा विकास गर्नको लागि पहल गर्दै आइरहेको निवर्तमान वडाध्यक्ष जीवन विक्रम उचैले स्वास्थ्यका लागि पनि महको माग राम्रो रहेकाले उत्पादित महले सहजै बजार पाउने भएकाले पनि लुँखुका कृषकहरूलाई मौरी पालनमा प्रेरित गरेको बताउँछन् ।

‘लुंखुदेउरालीलाई मौरीकै क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाको सहयोगमा यस आर्थिक वर्षमा १२ लाख मूल्य बराबरका मौरी गोला, मौरीसहितका घार र खाली घारहरू पनि वितरण गरिएको छ । कृषकले गरेको कुल लगानीमा ५० प्रतिशत गाउँपालिकाको अनुदान हो,’ उनले भने, ‘म आफै पनि मौरी पाल्ने गरी यो कार्यक्रममा सहभागी भएको छु । यहाँको तरकारी, दूध, खसी, बोका त पोखरामा निर्यात गर्दै आएका छौँ भने महको त बजार झनै राम्रो हुन्छ ।’

निरन्तर चलिरहने कार्यक्रमअन्तर्गत अहिले मौरी गोला घार सहित ८० वटा र खाली ५० वटा घार र अन्य सामग्रीहरू समूहमा आबद्ध भएका कृषकहरूलाई हस्तान्तरण गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पराजुलीका अनुसार घार सहितका मौरी गोला ८० ओटाका लागि ७ लाख २० हजार, खाली मौरी घार ५० ओटाको लागि २ लाख १० हजार, चिनी ७४३ किलोग्रामका लागि ७१ हजार, आधार चाका २० किलोग्रामका लागि ३० हजार, मौरी टोपी २२ ओटाको लागि १३ हजार, आधार चाका बनाउने साँचोका लागि ३० हजार तथा घार स्ट्यान्ड, महदानी, पन्जा, ढुवानी लगायतको लागि झन्डै १ लाख ३० हजार रुपैयाँ गरी कुल १२ लाख रुपैयाँ भन्दा बढीको अनुदान दिइएको हो ।

तीन वर्ष अगाडि वडा कार्यालयको अगुवाइमा सुरु गरिएको मौरी पालनबाट वडाभर १७ जना व्यावसायिक मौरी पालक कृषकहरू पुगेका छन् । ५ ओटासम्म घारहरू राखेका कृषकहरूलाई व्यावसायिक कृषक मान्ने गरिएको छ । यस्तै २० ओटासम्म घार बनाएकाहरूलाई पूर्ण व्यावसायिक उन्मुख र २० भन्दा धेरै घार राखेकाहरूलाई पूर्ण व्यावसायिक मौरी पालक कृषक वडाले मान्दै आएको छ । लुंखुदेउरालीभरमा सबैभन्दा धेरै मौरी पालन गर्दै आएका ताराप्रसाद पौडेल अगुवा मौरी पालक हुन । उनले मह बेचेर नै वार्षिक ७ लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएका छन् । अर्का सफल कृषक हुन्– उमलाल नेपाली । उनले हालै लगेका सहित गरेर झन्डै एक सय घारहरू बनाएका छन् । उनले पनि वार्षिक झन्डै १० लाख मूल्य बराबरको मह बिक्री गर्ने गरेका छन् ।

‘हामीले मौरी पालन सुरु गरेको ती वर्ष अगाडिबाट हो । यो छोटो अवधिमा व्यवसाय फस्टाएर गएको छ । मह उत्पादन गर्न सके बजारको समस्या छैन । मूल्य पनि राम्रो पाइएको छ,’ नेपाली भन्छन्, ‘यहाँबाट विदेशसम्म पनि मह पुगेको छ । स्थानीय स्तरमै पनि मागे जति दिन नसकिरहेको अवस्था छ । अहिले किलोको १२ सय रुपैयाँका दरमा बिक्री भइरहेको छ ।’

निवर्तमान वडाध्यक्ष उचैले पूर्ण व्यावसायिक भएर मह उत्पादन गर्दै आइरहेका तीनै कृषकहरूलाई आधारमा राखेर उनीहरूको माध्यमबाट अन्य कृषकहरूको जीवनस्तरसमेत माथि उठाउने गरी लुंखुदेउरालीलाई मौरीको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको बताए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here