28.1 C
Kathmandu
Saturday, July 27, 2024

हराइरहेको जहाजको खोजी भइरहेको छ : तारा एअर

काठमाण्डाै – हिजो बिहानदेखि हराइरहेको जहाजको खोजी भइरहेको तारा एअरले जनाएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।

हिजो दिनभर हेलिकप्टर र स्थलमार्गमार्फत खोजी भइरहे पनि जहाजको अवस्था थाहा हुन सकेको छैन । मौसमको खराबीका कारण खोजी कार्यमा समस्या भएको छ । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको तारा एअरले जनाएको छ । हराइरहेको जहाज खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर फेरि जोमसोम फर्किएको थियो ।

जहाज खोजी तथा उद्धारका लागि काठमाण्डौ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसम सुधार हुनासाथ खोजीको काम फेरि सुरु गरिने तारा एअरले जनाएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्धार टोलीले पनि खोजी काम गरिरहेका छन् । हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज