28.1 C
Kathmandu
Saturday, July 27, 2024

अमेरिकाबाट एक लाख डोज फाइजर खोप नेपाल आउँदै

काठमाडौं ८ कात्तिक। अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो । उक्त खोप आज बिहान ९ बजे कतार एयरवेजको फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो खोप थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने बताए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई लगाइने सरकारको तयारी छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो खोप भण्डारणका लागि चार वटा फ्रिज युनिसेफमार्फत् यसअघि नै नेपाल ल्याइसकिएको छ । कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफ मार्फत् नेपाल आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज