‘एमसीसीमा हामी पनि रमिता हेर्ने नै भयौं’

54

काठमाडौं । सरकारमा हुँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन गर्न जोडबल गरेको नेकपा एमाले प्रमुख प्रतिपक्षी भएपछि मौनता साधिरहेको छ ।

एमाले उपमहासचिव विष्णु रिमालकै शब्दमा भन्ने हो भने सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीमा रमिता देखाइरहेका छन्, एमाले पनि रमिता हेर्ने मूडमा छ । भन्छन्, ‘उहाँहरुले रमिता देखाइरहनुभएको छ भने हामीले गर्ने के त ?’ यद्यपि चुनावमा जाँदा एमसीसीबारे एमालेले प्रष्ट आफ्नो मान्यता राख्ने समेत उनले बताए ।

एमालेले ४१ महीना सरकारको नेतृत्व गर्दा तपाईंले प्रधानमन्त्रीको कोर टीममा रहेर काम गर्नुभयो । अहिले ६/७ महीनादेखि कांग्रेस नेतृत्वको सरकारले गरिरहेको काम प्रतिपक्षमा रहेर हेरिरहनुभएको छ । मूल्यांकन कस्तो छ ?

अहिलेको सरकारबाट काम भएन भनेर टिप्पणी गर्नु नै बेकार हुन्छ । किनकि यो काम गर्न आएको सरकार होइन । काम नगरेको भनेर कसैले गुनासो गरेको पनि सुनिन्न ।

हामीले काम नगर्दा बेस्सरी गुनासो आएको थियो, किनभने हामीसित अपेक्षा थियो । हामी काम गर्‍यौं भन्थ्यौं, मान्छेहरुलाई चित्त बुझ्दैनथ्यो । सयमा डेढ सय प्रतिशत गरोस् भन्ने अपेक्षा थियो ।

यो सरकारले चाहिं काम नगरेको भए सिद्धिहाल्यो, तर बिगार्दै गयो । अर्थतन्त्र चौपट्टै भएको छ । विज्ञहरु नै चिन्तित छन् । अहिलेको अर्थमन्त्रीले अर्थतन्त्रै बुझ्नुहुन्न । अर्थतन्त्र बुझ्नैपर्छ भन्ने छैन, राजनीति बुझे पुग्थ्यो । तर उहाँले वरिपरि राखेकाहरुले पनि अर्थतन्त्र बुझ्दैनन् । योग्य मान्छे फ्याँकिएका छन्, अयोग्यलाई राखिएको छ । उहाँलाई त सजिलो होला, तर मुलुकको अर्थतन्त्र डुब्ने भयो । विदेशी मुद्रा सञ्चिति घट्दैछ ।

हामीले सरकार चलाउँदा लक्ष्य निर्धारण गरेका थियौं । प्रधानमन्त्रीले मन्त्रीसित कार्यसम्पादन सम्झौता गर्ने हो भनेर प्रश्न पनि आयो, तर त्यो गर्नैपर्ने थियो । अहिलेको सरकारले पनि गर्नुपर्थ्यो । परिणाम के ल्याउने भनेर कार्यकारी प्रमुखले सोचेन भने मुलुक चल्दैन । तर, उहाँहरुले केही गर्नुभएन । हामीले कार्यसम्पादन करार गरेर तीन–तीन महीनामा समीक्षा गर्दा त परिणाम ल्याउन गाह्रो पर्ने मुलुकमा, जसलाई जे मन लाग्छ त्यही गर्दा परिणाम के आउँथ्यो र !

कांग्रेसका सभापति शेरबहादुर देउवाजी अलिकति जीउ तन्काउँ भने जबर्जस्ती जोडिएका प्वाँखहरु झर्लान् भन्ने चिन्ता छ । जोगाएर राखौं, हिंड्नै सकि‌ंदैन । उहाँको हालत यस्तो छ ।

६ महीना अर्थतन्त्र लयमा नहिंड्दा अहिले हामी अप्ठ्यारोमा छौं । यो सरकारले समयमै चुनाव गर्‍यो भने अर्को फागुनसम्ममा नयाँ सरकार आइसक्ला । यो एक वर्ष यसरी नै चलाइरहँदा कति बिगार होला, कल्पना गरौं । तर बिग्रियो भन्ने अनुभूति उहाँहरुलाई छैन, यो चिन्ताजनक कुरा हो ।

तपाईंले भनेको जस्तो बिग्रिनुको कारण के होला ?

राजनीतिक प्रतिशोधमा बनेको सरकार हो यो । जे उद्देश्यले सरकार बन्छ, त्यही हुन्छ । सरकारमा जानासाथै हामीले विकासको एजेण्डा अगाडि बढायौं । हाम्रा कतिपय एजेण्डालाई अति महत्वाकांक्षी भनेर तपाईं मिडियाहरुले प्रश्न गर्नुभयो । हामीले जनतामा सपना जगाउन महत्वाकांक्षी हुनुपर्छ भन्यौं ।

घोषणापत्र जारी गर्दा ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्यौं र सरकार बन्नासाथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेर सैद्धान्तीकरण गर्‍यौं । सबैलाई अधिकार हुनुपर्छ, अवसरमा सबैको पहुँच हुनुपर्छ, समानता, सुरक्षा र सम्मान हुनुपर्छ भन्यौं । यी पाँच विषयलाई परिपूर्ण लोकतन्त्रको मापक मान्यौं ।

हामीले दिगो विकास लक्ष्यसँग जोडिन सोच नै फेरिनुपर्छ भन्यौं । गंगाको कलकत्ता पोर्टबाट हिंडेको पानीजहाज धादिङमा ल्याउने परिकल्पना गर्‍यौं । तर, अहिलेको सरकारको योजना के त भन्दा केपी ओलीलाई सडकमा पुर्‍याउने, एमालेविहीन मुलुक बनाउने । जसको जे एजेण्डा छ, त्यही हुनेभयो नि त !

‘टालाटुली बटुली’ गठबन्धन छ । उपेन्द्र यादवजी अस्तित्वका लागि लडिरहनुभएको छ । जसपा सधैं विग्रह हुने पार्टीभित्र पर्छ । प्रचण्डजी पनि अस्तित्व रक्षाको लडाईंमा हुनुहुन्छ । कुनै समय प्रचण्डको रापतापले दुनियाँ नै डढ्छ कि जस्तो थियो । अहिले आफैं घाममा सेकिंदै हिंडिरहनुभएको स्थिति छ । हाम्रो पार्टीबाट जानुभएको माधव नेपालजी कसरी आफ्नो उपस्थिति देखाउने भनेर लागिरहनुभएको छ ।

संसदको दोस्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी यी सबैलाई बोकेर हिंडिरहनुभएको छ । अलिकति जीउ तन्काउँ भने जबर्जस्ती जोडिएका प्वाँखहरु झर्लान् भन्ने चिन्ता छ । जोगाएर राखौं, हिंड्नै सकिंदैन । उहाँको हालत यस्तो छ ।

राजनीतिक नेतृत्व हल न चलको अवस्थामा हुँदा ब्युरोक्रेसीले पनि साथ दिंदैन । भिजन भएको राजनीतिक नेतृत्व भए आफ्नो ‘डिफिरेन्सेस’ भए पनि सँगसँगै दौडिने प्रयत्न गर्छ, नत्र जोखिम लिंदैन । जागीर पकाएर बस्छ । अहिले त्यही भइरहेको छ ।

त्यसमाथि प्रमुख प्रतिपक्षी एमालेले संसद चल्न दिंदैन, सर्वदलीय बैठकमा पनि जाँदैन । असहयोगी प्रतिपक्षका कारण सरकारलाई झन् चर्को पर्‍यो नि, हैन ?

सत्तापक्षले एमालेविहीन मुलुक बनाउने भनिरहँदा एमालेले ‘हुन्छ मलाई सिध्याउनुस्’ भनेर किन साथ दिन्छ ? दशैंको बोकालाई झैं पानी छम्किएपछि प्रतिपक्षले ‘हुन्छ काट्’ भनेर टाउको हल्लाउँदैन नि । फेरि, संसद र सरकारबीच कुनै तालमेल पनि छैन । उहाँहरुसँग के छ त एजेण्डा अहिले संसदबाट गर्न ?

कानूनहरु बनाउनुपर्ने छ नि त ?

कुनै कानून ल्याउनुभएको छैन । संसदमा एमालेले अवरोध गरेको छ, ‘ब्लक’ गरेको छैन । सत्तापक्षले चाहेको काम खुईखुई भइराखेको छ । नत्र हाम्रो दल नै फुटाउने विधेयक कसरी पास भयो ? अध्यादेश कसरी आयो ? प्रतिस्थापन विधेयक कसरी पास भयो ? किनकि बजेट त पहिल्यै आएको थियो ।

तर, स्पन्ज आइरन इत्यादिमा अन्तशुल्क र भन्सार महसुल हेरफेर गर्ने गरी प्रतिस्थापन विधेयक ल्याउनुभयो । करोडौंको चलखेल भयो भन्ने छ । अर्थ मन्त्रालय जस्तो नियामक निकायमा भद्रगोल भइराखेको छ । यो त हामीले संसद अवरुद्ध गरेर भएको होइन ।

उहाँहरुलाई मन लागेको गर्न एमालेको अवरोधले रोकेन । उहाँहरुलाई कुनै बहाना चाहिंदा, अरुलाई अपजस दिएर जोगिनु पर्दा एमालेले अवरोध गरेको छ, त्यसकारण सकिएन भनिरहनुभएको छ । त्यसकारण राजनीतिको अन्तर्वस्तु बुझ्नुपर्छ भन्ने लाग्छ ।

तपाईंहरु सरकारमा हुँदा प्रतिपक्षी कांग्रेस सुते जस्तै थियो । अहिले त्यसको गुन तिरेको भए हुन्थ्यो कि ?

कांग्रेस त नक्कली पार्टी खडा गरेर एमाले सिध्याउने, एमालेको नेतृत्व समाप्त पार्ने, एमालेविहीन मुलुक बनाउने भनेर आयो । हाम्रो सरकारको पहिलो नीति तथा कार्यक्रम पास गर्दा उहाँहरुले विरोध गर्नुभएन । अनि हामीले सद्भावपूर्ण ढंगले कांग्रेसलाई प्रतिपक्षी पनि मान्दैनौं, सहयोगी पार्टी हो भन्यौं । हामीले जस दिन त्यसो भनेको हो, तर उहाँहरुले हामीलाई स्याटलाइट भन्यो भनेर बुझिदिनुभयो ।

उहाँहरुको अर्को आरोप छ– लोकतन्त्र खुम्चिंदै गयो भन्ने । म अहिले पनि भन्छु, हामीले सरकारमा हुँदा जे थालेका थियौं, त्यसलाई शेरबहादुरजीले निरन्तरता दिनुपर्थ्यो । तर उहाँले न रोक्नुभयो, न निरन्तरता दिनुभयो ।

जस्तो, हामीले ब्युरोक्रेसीमा पुनर्संरचना गर्दा राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग लगायत नियामक निकायलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनुपर्छ भन्यौं । त्यही गर्‍यौं पनि । जुनसुकै पार्टीको जोसुकै प्रधानमन्त्री होस्, गर्नुपर्ने यही हो । कार्यकारीले प्रभावकारी ढंगले काम गर्न पाए न परिणाम आउँछ । तर अहिलेको गठबन्धनका साथीहरुले यो कुरा बुझ्दा पनि बुझ्नुहुन्न । भिजन छैन, आँट पनि छैन ।

प्रदेश सरकारहरु हेर्नुस् त ! काम गरे हुन्थ्यो नि, तर केही गरेको छैन । पूँजीगत खर्च ४ प्रतिशत पनि भएको छैन ।

यी सब बेथितिको शुरुआत तपाईंहरुकै सरकारको पालामा भएको होइन र ?

हामीले ठीक ढंगले चलाएका थियौं । तथ्यांकमै भन्ने हो भने मुद्रास्फीति २.५ प्रतिशतमा छाडेको हो, अहिले ७ प्रतिशतमा पुगेको छ । कोरोना महामारीमा पनि टिक्न सक्ने अर्थतन्त्र छोडेका थियौं । विदेश जाने मान्छे घट्दा पनि विप्रेषण बढेको थियो । अहिले विदेश जाने बढेका छन्, तर विप्रेषण घटेको छ । बिचौलिया, हुण्डी तस्करी चलेको छ । यो ६ महीनाको बीचमा भएको भद्रगोलको कारण खोजौं भन्छु म ।

अर्थमन्त्री जनार्दन शर्माजी कुनै समय नेकपामै हुनुहुन्थ्यो, असलै साथी हुनुहुन्थ्यो । अहिले पार्टी फरक पर्‍यो भन्दैमा किन गाली गर्नुपर्‍यो र ? शेरबहादुर देउवा र केपी शर्मा ओली साथी हो, जेलमा सँगै बस्नुभएको उहाँहरुबीच तिमी चल्छ । तर नीतिमै समस्या देखिएपछि प्रश्न उठाएका हौं ।

जनताबाट म्याण्डेट पाएको सरकारले अवसर सदुपयोग गर्न नसक्दा यस्तो सरकार बन्ने अवस्था आयो । यसमा त तपाईंहरु जिम्मेवार होइन र ?

सप्रिंदा मेरो हात थियो, अहिले बिग्रिएको तेरो टाउकोमा हाल्छु भन्ने मापदण्ड हुँदैन । विगतमा बिरामी, पार्टीबाट चौतर्फी हमला हुँदा गरेका कामलाई ख्याल गरिएन । त्यति हुँदा पनि हामीले जोगाएछौं यसमा धन्यवाद पाउनुपर्ने होइन र ? तर केपी ओलीले गरेको कामलाई राम्रो भन्न धेरैलाई कब्जियत भएझैं भयो ।

प्रचण्डजी र माधव नेपालजीको कारणले गर्दा हाम्रो अवसर गुम्न गयो । त्यसमा हाम्रो कति अपजस हिसाब गरौंला, तर गरेको त उहाँहरुले नै हो ।

२०१५ सालमा बीपीले दुई तिहाइ बहुमत पाउनुभयो, तर उहाँको सरकार ढल्यो । उहाँले जेल बस्नुपर्‍यो । त्यो अवसर गुम्यो, ३० वर्ष मुलुक पञ्चायती व्यवस्थामा गयो । पुनः बहुदल आएपछि २०४८ सालमा गिरिजाप्रसादले अर्को मौका पाउनुभयो । विभिन्न कारणले तीन वर्षमा उहाँको शासन पनि गयो । हामीले सरकार बनाउने अवसर पाउँदा त्यस्तो अपजसबाट जोगिनुपर्छ भन्यौं । तर, जसरी बीपीको पालामा मात्रिका आदि इत्यादिले अप्ठ्यारो पारे, जीपी (गिरिजाप्रसाद कोइराला) को पालामा कृष्णप्रसाद र गिरिजाप्रसादको अनमेल आदिका कारण कांग्रेसले सत्ता टिकाउन सकेन । हाम्रोमा पनि त्यही दोहोरियो ।

बीपीलाई महामानव भन्नुपर्ने, गिरिजाप्रसादले गर्न खोजेको थियो भन्नपर्ने तर केपी ओलीले नगर्न खोजेको थियो भन्न मिल्छ जस्तो लाग्दैन । हाम्रो तर्फबाट गर्ने प्रयत्नहरु गरेकै थियौं, इतिहासमा मूल्यांकन होला ।

हुँदा खाँदाको प्रतिनिधिसभा विघटन गर्नु त फरक कुरा होला नि !

जम्मै हुँदा खाने त हो नि ! तपाईं कार्यकारी प्रमुख हुनुहुन्छ, हटाएर म बस्छु भन्दा को चुप लागेर बस्छ ? तपाईं अन्तर्वार्ताका लागि आउनुभएको छ, तपाईं जानुस्, अर्कोलाई दिन्छु भन्दा मान्नुहुन्छ ? मैले भन्दा बाैद्धिक वृत्त, मिडियाका साथीहरु चित्त दुखाउनुहुन्छ, तर अरुले केही नगर्दा परिपूर्ण राष्ट्रवाद, केपी ओलीले नाकाबन्दीको विरोध गर्दा खोक्रो राष्ट्रवाद कसरी भयो ?

केपी ओलीको नेतृत्वमा नेपालको नक्शा फेरिंदा नक्कली राष्ट्रवाद हुने, अरुले उत्तरी चेकपोष्टमा लगेर भारतीय सेना सिपाही राख्दा पनि महान् राष्ट्रवादी हुने ? मैले बुझिरहेको छैन । आउने पुस्ताले पनि सोध्ला, छलफल होला । अहिले इतिहासप्रति धेरै अन्याय गर्न हुँदैन भन्ने हो ।

प्रधानमन्त्री छँदा वा नेकपाको अध्यक्ष हुँदा केपी ओलीले जे–जे गर्नुभयो त्यसको मूल्याङ्कन हुँदै गर्ला । तर, ओली र देउवाको ‘वेभलेन्थ’ मिल्छ भनिन्छ, तपाईंले पनि भन्नुभयो । अहिले हेर्दा एमालेले कांग्रेसलाई भन्दा एकीकृत समाजवादी र माओवादीलाई बढी पेलेको जस्तो, धेरै टोकसे जस्तो देखिन्छ नि ?

अदालतले फैसला नगरेसम्म समाजवादी भनेर दल नै मान्दैनौं । नक्कली कागज बनाएर, नक्कली ढंगले सिर्जना गरेका संरचनालाई हामी मान्दैनौं । अहिले सदनमा हाम्रो विरोध पनि यही हो ।

राष्ट्रपतिलाई विशेष आसन बनाएर, निम्ता गरेर ल्याएर प्रतिनिधिसभामा उपस्थित गराउन पाइन्छ । उपराष्ट्रपतिलाई बालकोनीमा लगेर राखिन्छ, तल आउन पाउनुहुन्न । त्यो ठाउँमा माधव नेपालको नेतृत्वमा १४ जना गैरसांसद आएर बसे भन्ने हाम्रो दाबी छ, यसमा सभामुखले जवाफ दिनुपर्छ । एउटा दलले रामबहादुर थापा लगायतलाई कारबाही गर्‍यो भनेर तुरुन्त सूचना टाँस्नुभयो, हामीले कारबाही गरेको सूचना दिंदा चाहिं किन कुहाएर राखेको ?

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here