28.1 C
Kathmandu
Saturday, July 27, 2024

बच्चादेखि वृद्धसम्मको रोजाइमा साहसिक खेल जिपलाइन

पर्वत : ७० वर्षीय पर्वतको कुश्मा नगरपालिका–४ राधाकृष्ण टोलका पण्डित कृष्णप्रसाद आचार्यले उत्साहका साथ जिपलाइनमा बहेको देख्दा धेरैलाई जिप लाइनले लोभ्याएको छ।

७० वर्ष नाघेका आचार्यले जिपलाइन सुरु गर्ने वेला उमंगका साथ बोलेका शब्द र उनको भिडियो टिकटक सहितका सामाजिक सञ्जालमा धेरै रुचाइएको छ।

बुढेसकालमा पनि जिप लाइनका लागि साहस जुटाएका आचार्यसँग कुराकानी गर्दा जिपलाइनमा बग्नु सामान्य कुरा भएको सुनाउँदै अहिले पनि पौडेर कालीगण्डकी नदी पार गर्न सक्ने सुनाए।

‘जिपलाइन मात्रै होइन म त बन्जी पनि गर्न सक्छु, अहिले पनि पौडेर कालीगण्डकी नदी तर्न सक्छु। म त नारायणीमा बग्दै बाघचाल हानेको मान्छे हुँ’‚ उनले भने, ‘देवघाटबाट उत्तानो परेर पौडिदै नारायणघाटसम्म पुगेको छु। त्यो बेलामा १७ वर्षको थिएँ।’

जिपलाइनमा बहँदा निकै आनन्द मिलेको र फेरि पनि गरूँ गरूँ भएको सुनाउँदै उनले अरूलाई पनि साहसिक खेलको आनन्द लिन आह्वान गरे।

ज्येष्ठ नागरिक मात्रै होइन कास्कीको पोखरा घर भएका नौ वर्षीय अर्णवकाजी श्रेष्ठले पनि साहसपूर्वक डेढ किलोमिटर लामो जिपलाइनको तारमा बग्दा उनको धेरैले प्रशंसा गरे।

सदरमुकाम कुश्मा घर भएकी १४ वर्षीया मेमोरिना केसी र बिबिता बिकले त जिपलाइनको औपचारिक सुरुवात नहुँदै परीक्षणकालमा नै जिपलाइनको आँट गरे।

पोखराका श्रेष्ठले पनि कालीगण्डकी नदीमाथिको जिपलाइनमा बहँदा रमाइलो महसुस भएको बताउँदै आफ्ना साथीहरूलाई पनि पठाउने बताए। जिपलाइनमा डरभन्दा मनोरञ्जन बढी मिलेको उनको अनुभव छ।

बच्चा र वृद्धले नै साहसिक खेल जिपलाइनमा रमाउने क्रम देख्दा आफूहरूलाई हौसला मिलेको हार्नेस जिपलाइनका अध्यक्ष विदुर पौड्याल बताउँछन्।

सामान्यतः साहसिक खेलमा युवाहरूको आकर्षण बढी हुने गरेकोमा जिपलाइनमा भने ७० वर्ष उमेरका व्यक्तिले समेत आँट गर्दा आफूहरूले पर्यटकीय विकासका लागि राखेको अपेक्षा पूरा भएको उनको भनाइ छ।

‘साना उमेरका बालबालिका र यति धेरै उमेरका ज्येष्ठ नागरिकले पनि जिपलाइनमा आँट गर्न सक्नुहुन्छ होला भन्ने त लागेको थिएन तर कृष्ण बुबाले गरेको आँटले जिपलाइनमा जानुपर्ने सन्देश दिएको छ’‚ उनले भने, ‘बलियो सुरक्षाका साथ यात्रा गराइने भएकाले धेरैको आकर्षण बढेको छ। कालीगण्डकी नदी सतहबाट झन्डै अढाइ सय मिटरको उचाइबाट गण्डकीलाई दुई ठाउँमा क्रस गर्नुको आनन्दले पनि धेरैलाई लोभ्याएको छ।’

जिपलाइनका सञ्चालक राजकुमार क्षेत्रीले पर्वत सहित पोखरा र अन्य ठाउँहरूबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको बताए।

आफूहरूले आशा गरेअनुसार नै पर्यटकहरु आउने क्रम बढेको भन्दै उनले अन्य डर लाग्ने साहसिक खेलमा भन्दा जिपलाइनमा कम डर लागेको अनुभव जिपलाइनमा यात्रा गरेकाहरूले सुनाएको बताए।

‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जिपलाइनमा केही कम डर लाग्ने अनुभव जिपलाइनमा बगेकाहरूले सुनाएका छन्। जिपलाइनप्रति उनीहरूको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ’‚ उनले भने, ‘७० वर्षका बुबाले जिपलाइन बगेको भिडियो टिकटकमा भाइरल भएपछि अरू धेरै जना पनि हौसिनु भएको छ। धेरै उमेर पुगेका अरूले पनि इच्छा प्रकट गर्नुभएको छ।’

उनका अनुसार पाँच दिनको अवधिमा झण्डै दुई सयजनाले खेलको आनन्द लिएका छन्।

सुपरम्यान शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको पर्वतको जिपलाइन गत पुस २४ गतेबाट औपचारिक रूपमा सबैको लागि खुला गरिएको हो।

जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ। सञ्चालनमा आएको केही दिनसम्म उद्घाटनको अवसरमा १० प्रतिशत छुट दिइएको छ।

जिपलाइनका निर्देशक सुनिल बानियाँका अनुसार कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ।

१४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुनेछ।

सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकलाई आकर्षित गर्न जिपलाइन महत्त्वपूर्ण हुने उनले बताए।

शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जिपलाइन विशेष रहेको छ।

पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्मको भागमा जिपलाइन बनेको हो।

निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ।

यो जिपलाइनमा एकै पटकमा दुईजना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्र यात्रा पूरा हुन्छ।

न्युज दृष्टिबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज