25.1 C
Kathmandu
Saturday, July 27, 2024

अफलाइन राइडरले विकृति बढाउँदै गएपछि राइडरलाई धमाधम कारबाही गर्दै प्रहरी

पछिल्ला दिनहरूमा अफलाइन राइडरले विकृति बढाउँदै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अपरेसन सुरु गरेको छ । जसअनुसार, प्रहरीले विभिन्न समयमा अफलाइन राइड गर्नेहरूलाई नियन्त्रणमा लिई सचेत गराउँदै फेरि अफलाइन राइड गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

केही दिनअघि मात्रै काठमाडौँको विभिन्न स्थानबाट करिब डेढ सय जना अफलाइन राइडरलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । बाग्मती प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिए पनि आवश्यक कार्यविधि बनाउन ढिलाइ भइरहेको अवस्थामा अफलाइन राइड नियन्त्रण गर्ने प्रहरीको प्रयासलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

पछिल्लो समय अनलाइन राइड शेयरिङको लोकप्रियता बढ्दै जाँदा अफलाइन राइड शेयरिङ विकृति बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकाका प्रायः चोकहरूमा अफलाइन राइडिङ गराउनेहरूको भीड बढ्दै गएपछि प्रहरीले समेत यसको व्यवस्थापनका लागि चासो देखाउन सुरु गरेको छ । केही दिनअघि मात्रै कोटेश्वरमा अफलाइन राइडरले यात्रु लुटपाट गरेको घटना बाहिरिएको थियो ।

अफलाइन राइडिङका क्रममा कतिपयले भने यौनजन्य दुर्व्यवहारका घटना हुने गरेको समेत पाइएको प्रहरी बताउँछ ।चोक चोकमा ‘पठाओ हो ?’ भन्नेसँग सावधान रहनुपर्ने प्रहरीको भनाइ छ ।

‘अफलाइन राइड गर्दा जिम्मा कसले लिने ? कारबाहीको भागीदार को हुने ? कहीँ न कहीँ त यो दर्ता हुनुपर्छ होला नि ?’ प्रवक्ता एसपी मैनालीले प्रश्न गरे । त्यस्तो अवस्थामा उनीहरूलाई सुरुमा सचेत गराउने र अटेरी गरेको पाइए कारबाही समेत गर्ने गरेको उनी बताउँछन् ।

यस्तो समस्या नियन्त्रणका लागि पछिल्ला दिनहरूमा प्रहरी समेत सक्रियतापूर्वक लाग्नु सुखद सङ्केत भएको पठाओ नेपालका प्रवक्ता शशाङ्क शमशेर थापा बताउँछन् ।

थापा भन्छन्,‘प्रहरीले सक्रियतापूर्वक अफलाइन राइडरहरूलाई रोक्नु एकदमै सकारात्मक कुरा हो,यसको हामी स्वागत गर्छौँ,’ उनले भने,‘जति पनि राइड शेयरिङ कम्पनीहरू छन्, सबैका लागि प्रहरीको यो काम निकै सकारात्मक हो ।’

‘पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्यूआरटी (क्वीक रेस्पोन्स टीम) परिचालन गर्छौ र सेवा उपलब्ध गराउँछौ’, थापाले भने, ‘अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।’

राइड शेयरिङका नाममा देखिएका विकृति विसङ्गतिलाई अहिलेदेखि नै नियन्त्रण गर्दै जानु आवश्यक भएको उनले बताए । प्रवक्ता थापा भन्छन्,’प्रहरीको काम प्रशंसायोग्य छ, अफलाइन राइडिङ निरुत्साहित गर्न यसले सकारात्मक सन्देश दिन्छ ।’

पठाओले अनलाइन राइडका समयमा विभिन्न प्रकृतिका दुर्घटनामा परेकाहरूलाई बीमामार्फत ५७ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ । हालसम्म २ सय जनाभन्दा बढीले उपचार बापत इन्स्योरेन्सबाट दाबी भुक्तानी पाएका छन् । ‘हालसम्म दुर्घटनामा मृत्यु भएका ३ जनाको परिवारलाई बीमाबापतको दाबी भुक्तानी गरिसकेका छौँ,’ प्रवक्ता थापाले भने ।

‘पठाओ आजको दिनमा सबैभन्दा ठुलो राशीको बिमा उपलब्ध राइड सेयरिङ कम्पनी हो ।’ थापा थप्छन् ‘राइडर र यात्रु दुबैले दुर्घटनामा उपचार खर्च एक लाख सम्म र मृत्यु वा अङ्ग भङ्ग भएमा १० लाख सम्म बिमा दाबी भुक्तानी पाउँछन् ।’ अवैध अफलाइन राइड चढ्ने क्रममा दुर्घटना भइहालेमा यात्रुले बीमा पनि पाउँदैनन् भने क्षतिपूर्तिका लागि पनि कोही भागिदार हुँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज