काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए ।
आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी समाजवादका कुरा गर्दछौँ । म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने की नभन्ने ।’
उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए ।
‘जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो की होइन ।’ उनले भने ।
म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर लाखौँको संख्यामा सम्झौता गर्दछु भने म समाजवादी हो की होइन । म आफ्नो छोराछोरीलाई महंगो बोर्डिङ स्कुलमा भर्ना गर्दछौँ, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो की होइन ’राउतल भने ।