27.1 C
Kathmandu
Monday, July 22, 2024

भ्रष्टाचारमा जोसुकै मानिसहरु संलग्न भए पनि निर्मम भएर कारबाही गर्छौं-गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा जोसुकै मानिसहरु संलग्न भए पनि निर्मम भएर कारबाही गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव हुने होइन । पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक छ । मेरो र उसको नभनी सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव छ ।’

‘कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।

भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए ।

‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज