24.1 C
Kathmandu
Friday, July 26, 2024

सुशील प्याकुरेलले राजदूत बन्न गरे अस्वीकार

काठमाडौं – सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेको भन्दै सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन् ।

मन्त्रिपरिषद्को अस्ति शुक्रवारको बैठकले सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेको हो । तर आज प्याकुरेलले विज्ञप्ति निकालेर राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित देशको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताए ।

राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देखेको उनले बताए ।

सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिन भन्दै आफूले प्रधानमन्त्रीलाई लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेको प्याकुरेलले जानकारी दिए । आफूलाई सरकारले राजदूतमा सिफारिस गरेको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै प्याकुरेलले सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केतसमेत नदिइनु अचम्मको विषय भएको बताए ।

प्याकुरेल विगत पाँच दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सक्रिय छन् । राष्ट्रिय मानव अधिकार आयोगको संस्थापक सदस्य पनि हुन् ।

मन्त्रिपरिषद्को बैठकले ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज