27.1 C
Kathmandu
Monday, July 22, 2024

पर्वतमा यो वर्ष ३७ लाख रुपैयाँको खोप खेर गयो

पर्वतमा आएकोमध्ये ३७ लाख ३१ हजार मूल्य पर्ने १२ लाख ९५ हजार डोज खोप खेर गएको छ। खोप भण्डारणका लागि आवश्यक तापक्रम सहितको चिस्यान नहुँदा ११ प्रकारका खोप खेर गएका हुन्।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले आव २०८०/०८१ जिल्लामा आएका ३४.७ प्रतिशत खेर गएको जानकारी दिए।​

तथ्यांकअनुसार बिसिजीको ९२ प्रतिशत‚ दादुरा रुबेलाको ७३ प्रतिशत‚ डिपिटी(हेप बी(हिबको ४८.२ प्रतिशत‚ पिसिभिको २५.९ प्रतिशत‚ पोलियोको ५१.४ प्रतिशत‚ टिसिभीको ६१.६ प्रतिशत‚ टिडीको ६८.६ प्रतिशत खोप खेर गएको शर्माले जानकारी दिए।

दादुरा रुबेलाको दुई लाख ८६ हजार रुपैयाँ‚ डिपीटी(हेप बी(हिबको एक लाख १० हजार, पिसिभीको एक लाख ३२ हजार, एफआइपिभीको एक लाख ५८ हजार, जेईको एक लाख ४४ हजार रुपैयाँ‚ पोलियोको एक लाख १७ हजार रुपैयाँ, रोटाको तीन हजार रुपैयाँ, टिसिभीको एक लाख ७८ हजार रुपैयाँ र टिडीको एक लाख चार हजार रुपैयाँ खेर गएको छ।

खोप खेर जाने दर मुलुकभर र अन्य देशमा पनि बाध्यतावश भइरहने र यो अवस्था शून्यमा झर्न नसक्ने कार्यालय प्रमुख शर्माको भनाइ छ। खोप लगाउन आउने व्यक्तिहरू ‘भाइल’मा रहेको क्षमतानुसार मिलेर एकै पटकमा नआउने र आवश्यक तापक्रम सहितको चिस्यान नहुने लगायतका कारणले खोप खेर जाने उनको भनाइ छ।

विगतको तुलनामा खोप खेर क्रमशः कम हुँदै गएको शर्माले बताए।

‘बिसिजीको एक भाइलमा २० जनालाई लगाउने खोप हुन्छ। खोप लगाउने वेला एकजना मात्रै आउनुभयो भने उहाँलाई लगाइदिनुपर्छ। यस्तो वेला बाँकी १९ डोज खेर जान्छ’, शर्मा भन्छन्।

विगतमा विभिन्न प्रकारका खोप नेपाललाई दाताहरूले निःशुल्क दिएकाले खोप खेर गए पनि नेपाललाई घाटा नभए पनि अब खेर जाँदा घाटा हुने उनले बताए।

सम्बन्धित समाचार

ताजा न्यूज