24.1 C
Kathmandu
Friday, July 26, 2024

अवैध सुनको कारोबारको आरोपमा पाँचजना पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले गत असार २० मा ताल्छिखेलको एक निर्माणाधीन घरबाट ५० लाख रुपैयाँ र डेढ किलो सुनसहित पाँचजनालाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये तीनजना भारतीय नागरिक र दुईजना नेपाली थिए ।

प्रहरीले पक्राउ लगत्तै बरामद सुन र नगद रुपैयाँसहित उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । तर, अनुसन्धानका क्रममा उनीहरूले संगठित रूपमा सुन तस्करी गरेको आशंका प्रहरीले गरेको छ । पक्राउ परेका पाँचजनामाथि प्रहरीले सुरुमा अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दै जाँदा उनीहरूले अवैध सुन पगाल्न प्रयोग गरेका अन्य कारखाना समेत प्रहरीले फेला पारेको छ ।

प्रहरीले सुरुमा भारतको महाराष्ट्रका २८ वर्षीय युवराज विभुते, सोहीका विक्रम वलयर र अभिषेक विभुतेलाई पक्राउ गरेको छ । त्यस्तै, भक्तपुरको सूर्यविनायकका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरको महालक्ष्मीस्थानका यसवन्त सुनार छन् ।

उनीहरूकै बयानमा आधारमा थप अर्का भारतीय नागरिकलाई समेत ललितपुर प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

महाराष्ट्र घर भएका २१ वर्षीय विजय सम्पतलाई प्रहरीले काठमाडौंको टोखा नगरपालिका–५ बाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।

उनीहरूले काठमाडौं र ललितपुरको विभिन्न ठाउँमा फ्ल्याट भाडामा लिएर अवैध सुन तस्करी गर्ने र सुन पगाल्ने गरेको एसपी सुवेदीको दाबी छ । प्रहरीले ललितपुर र काठमाडौंमा सञ्चालन गरेको तीन वटा फ्ल्याटमा छापा मारेको छ । एसपी सुवेदीका अनुसार ललितपुरको ताल्छिखेल, ललितपुरकै टंगाल, काठमाडौंको मित्रचोकमा रहेको फ्ल्याटमा प्रहरीले छापा मारेको हो ।

तीनवटै फ्ल्याटबाट प्रहरीले सुनका ढिक्का, सुन पगाल्न प्रयोग गरिने मेसिन, तामाको तार, सेतो रंगका धातु, पैसा गणना गरिने मेसिन, सुनको गुणस्तर परीक्षण गरिने मेसिन र अन्य कागजात बरामद गरेको छ । ताल्छिखेलबाहेकका फ्ल्याटबाट समेत प्रहरीले आठ लाख रुपैयाँ बरामद गरेको छ ।

त्यस्तै, चाँदी र सुनसम्बन्धी केही शंकास्पद विवरण समेत प्रहरीले बरामद गरेको छ । हाल पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ । उनीहरूमाथि संगठित तस्करीमा अनुसन्धान गर्नुपर्ने देखिए पुनः प्रहरीले नै गर्नुपर्ने हुन्छ । प्रहरीले पक्राउ गरेका सबै आरोपी २८ वर्षमुनिका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज