उपनिर्वाचनलाई मर्यादित बनाउ, व्यक्तिगत गालीगलौज नगरौं, एजेन्डामा आधारित बहस गरौं : अध्यक्ष ओली

14

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले उपनिर्वाचमा युवा उमेदवार देखिएको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।

“वैशाख १० गते उपनिर्वाचमा भाग लिने उमेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदै छ । धेरैजसो उमेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,” ओलीले लेखेका छन्,“ उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न म आग्रह गर्दछु ।”

गएको आमनिर्वाचनका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहसका निम्ति आउन आह्वान गरे पनि सम्भव नभएको उनले उल्लेख गरेका छन् । राजनीतिलाई सही बाटोमा लैजान अब एजेन्डाकेन्द्रित बनाउनैपर्ने ओलीको भनाइ छ ।

“मैले गत आमनिर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यस बेला मेरो प्रयास सफल भएन,” उनले लेखेका छन्, “अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डाकेन्द्रित बनाउनैपर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उमेदवारलाई शुभकामना !”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here