पर्वत । फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यले कुश्मा नगरपालिका ६ नं वडाकार्यायले निःशुल्क फोहोर फाल्ने डस्विन वितरण गरेको छ । आज एक कार्यक्रमका विच वडाले पहिलो चरणमा बगैंचा आमा समुहलाई १५ थान डस्विन उपलब्ध गराएको हो ।
डस्विन हस्तान्तरण गर्दै वडाअध्ययक्ष इश्वर गिरीले वडालाई सुन्दर र सफा राख्न सवैले हातेमालो गर्नुपर्ने बताउँनुभयो । गिरीले प्रत्येक व्यक्तिले आफ्नो घर वरपर सरसफाई गरेमा वडा नै सफा हुने बताउँदै सरसफाई अभियान चलाउँन अनुरोध गर्नुभयो । उहाँले आमा समुहका आमा दिदीबहिनीहरुको व्यक्तित्व संगै आर्थिक वृद्धिका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सवै क्रियाशिल भएर लाग्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले बगैंचा आमा समुहले जस्तै वडा भित्र रहेका अन्य आमा समुहले पनि यस्ता नमुना कामहरु गरेमा सहयोग गर्ने बताउँनुभयो ।
वडाले उपलब्ध गराएको डस्विन बगैंचा टोलका विभिन्न स्थानहरुमा राखिने बगैंचा आमा समुहका अध्यक्ष केशमा पुरीले बताउँनुभयो । पुरीले बाटोमा तथा सडकमा चाउँचाउँ, विस्कुट, मिठाई, सुर्तिजन्य पदार्थ लगायतका प्लाष्टिकजन्य बस्तु जथाभावी फाल्ने भएकाले व्यवस्थि गर्न डस्विन राख्न लागिएको बताउँदै आफुहरुको सरसफाई अभियानमा वडा कार्यालयले सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा वडा सदस्य शितासु गिरी, शिव गिरी लगायतको उपस्थिति रहेको थियो ।वडाअध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत वडा सदस्य सविता वि.कले र सञ्चालन वडा सचिव अञ्जिना शर्माले गर्नुभएको थियो । यस अघि पनि वडा कार्यालयले सरसफाई अभियानका लागि आमा समुहलाई १० हजार सहयोग गरको थियो ।