22.1 C
Kathmandu
Tuesday, July 23, 2024

पर्वतमा शिविर चलाएर माटोको उपचार

पर्वत / माटो अस्वस्थ हुँदा उत्पादनमा ह्रास आएको भन्दै कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले माटो परीक्षण अभियानलाई जोड दिएको छ। कार्यालयमा नै राखिएको ‘मिनी ल्याब’ मा कृषक नआएपछि शिविर सञ्चालन गरी माटो परीक्षण र उपचार गरिरहेको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन्।

केही समयअघि मोदी गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरेको कार्यालयले विश्व माटो दिवसको अवसर पारेर सोमबार पैयुँ गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गर्‍यो। शिविरमा गाउँपालिकाका सात वडाका १०२ नमुना परीक्षण गरिएको छ। परीक्षणका क्रममा माटोको ‘पीएच’ मान, नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था जाँच गरिएको थियो। ‘कीट बक्स’ विधिबाट गरिएको परीक्षणबाट पीएच मानको आधारमा कृषि चुनको प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ।
२५ प्रतिशत नमुनामा अम्लीयपन, ७५ प्रतिशतमा तटस्थ, ९५ प्रतिशतमा नाइट्रोजनको मात्रा कम रहेको तथा ८० प्रतिशत नमुनामा फस्फोरसको मात्रा कम रहेको पाइएको छ। नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ। सिफारिस गरिए अनुसार कृषकले कृषि चुन र मलखादको सन्तुलित प्रयोग गरे माटोको अवस्थामा सुधार आउने अधिकृत थापाको भनाइ छ।

‘हामीले परीक्षण गरेका अधिकांश नमुनामा पोटासको मात्रा कम रहेको देखिएको छ। जुन नमुनामा जे समस्या देखिएको छ, सोही अनुसार कृषकलाई प्रांगारिक मल, रासायनिक मल, कृषि चुन प्रयोग गर्न सुझाव दिएका छौँ’, थापाले भनिन्, ‘हामीले दिएको सुझाव पालना गर्नुभयो भने माटोको अवस्थामा सुधार आउने छ। ह्रास भएको माटोको उर्वरा शक्ति फेरि फर्किने छ। गर्न सक्नुभएन भने अवस्था झन् झन् नाजुक बन्दै जान्छ।’

शिविरमा आएका स्थानीय कृषक रामप्रसाद शर्माले गाउँमा शिविर आएको मौका छोडेर माटो परीक्षण गराउँदा माटोको अवस्था बिग्रिएको पाएको बताए। उनले प्राविधिकको सुझावअनुसार कोसे बालीमा केन्द्रित हुने बताए। आफू जस्तै धेरै कृषकलाई माटो परीक्षणबाट हुने फाइदाको बारेमा थाहा नभएकाले एकोहोरो खेती गरेको र सोचे जस्तो उत्पादन लिन नसकेको उनको भनाइ छ।

‘यहाँ आएर देखाएपछि मात्रै माटो परीक्षण किन गर्ने? भन्ने कुरा थाहा भयो। मेरै खेतबारीको माटोको अवस्था बिग्रिएको कुरा थाहै थिएन। उहाँहरूले धेरै सुझाव दिनुभएको छ। अरूले पनि प्राविधिकको सल्लाहअनुसार खेती गरे उत्पादन बढ्छ होला’ शर्मा भन्छन्, ‘हामी त एकोहोरो खेती गरेको गर्‍यै। पहिले नै जँचाउन पाएको भए माटोको अवस्था उहिले नै सुध्रिने रहेछ। ढिलै भए पनि थाहा भयो।’

कृषक माटो परीक्षणमा आकर्षित नभए पनि कार्यालयले विभिन्न समयमा फरक–फरक स्थानको माटो आफँैले संकलन गरेर परीक्षण गर्ने गरेको छ। नेपालको समग्र नतिजालाई हेर्दा माटोको ‘पी.एच’ मान ६० प्रतिशत रहेको छ। पर्वतको माटोको ‘पी.एच’ मान ८४ प्रतिशत रहेको छ। माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुन्छ। पर्वतको माटोमा भने यो मात्रा घट्दै गएको देखिएको छ। यो अवस्थामा सुधार ल्याउनकै लागि कार्यालयले माटो परीक्षणमा तिव्रता दिइरहेको छ।

सबै बालीमा एउटै ‘पीएच’ मान नहुने र आवश्यक पनि नपर्ने भएकाले समय समयमा माटोको परीक्षण गर्नुपर्ने कृषि प्राविधिकको सुझाव छ। बाली लगाउनुपूर्व नै माटोको परीक्षण गरी सोही अनुसारको उपचार गरेमा उत्पादन बढ्छ। रासायनिक मलको प्रयोगको सट्टा कम्पोष्ट वा गोबर मलको प्रयोग गरेमा उत्पादन बढ्छ। तर माटोको अवस्था धेरै नै बिग्रिएको भए कृषि चुनको प्रयोग गरेर माटोको अवस्थामा सुधार ल्याउन सकिने कार्यालय प्रमुख थापाले बताइन्। थाहा खबरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज